image

कत्ति फरक पार्छ यो एक नजरले। आज फेरी यी मेरा आँखा उसका आँखासँग जुध्न  पुगेछन्। चाहना पक्कै थिएन मेरो उसको सामुन्ने आउने। संयोग भनौँ वा भाग्यको खेल, आज हामी एक अर्काको अगाडि उभिन बाध्य भएकाछौँ |

आज धेरै पछि ती आँखासँग बिच जम्काभेट भयो। एकै छिनको त्यो हेराइले मेरो मनको रिस अनि उदासिपन सबै कता विलीन हुन पुगेछ। किन हो सधैँ यस्तै हुन्छ! जति सुकै चित्त दुखे पनि उसको त्यो एक नजरले सबै बिर्साइदिन्छ। उसलाई चाँही कस्तो हुन्छ कुन्नि, कहिले सोध्ने हिम्मत पनि गरेको छैन।

ब्याचलर सकेको ५ वर्ष पछि आज यसरी भेट होला भनेर सोचेकै थिइँन । खै, भेट पनि के भन्नु, लगभग २० मिटरको दुरी थियो होला हामी बिच। त्यो पनि केही नबोली नै विदाबारी भइयो। केवल एकैछिनको लागि आँखाको मिलन हुनु रहेछ।

कुनै बेला त्यो २० मिटर २ मिटर भन्दा नि कम हुने गर्थ्यो। अनि त्यो एकै छिन घन्टौँ हुने गर्थ्यो। ती दिनहरू थिए नबोली निन्द्रा नि नलाग्ने।  माया मात्र होइन हामीले एक अर्कलाई मन नै सुम्पिसकेका थियौँ। प्रेम कहानीमा कहिल्यै विश्वास नगर्ने मलाई प्रेम गर्न उसले नै सिकाएको थियो।  प्रेम कहानीमा भए जस्तै अन्तिममा हामी पनि सदैव साथ रहनेछौ भनेर उसले निर्धक्क बनाएको थियो।

जतिसुकै चाहे पनि भाग्यमा नभएको कुरा नपाइँदो रहेछ। अपरम्पार माया नै किन नहोस्, मेरो जिन्दगीमा उसको साथ लेखेको नै रहेनछ अनि कसरी हामी साथ हुन्थ्यौँ त । आफ्नो चित्त बुझाउन मैले सबै दोष जति आफ्नो भाग्यमा थोपरिदिएँ। सानै देखि आफूले चाहेको कुरा आमा बुवाले पुर्‍याइदिने बानी थियो, यो विषयमा त उहाँहरूसँग कुरा गर्ने आँट नि आएन।

आज उ एक विवाहित पुरुष भइसकेको छ। थाहा छ मैले उसलाई त्यो नजरले हेर्नु सामाजिक रूपले उपयुक्त छैन। तर यो मनलाई कसरी बुझाउने! गलत हो भन्ने थाहा हुँदा हुँदै नि यो मन किन नमान्ने होला! उसको आफ्नै परिवार छ, एक पत्नी छे, अर्धाङ्गिनी छे। मैले उसको बारेमा सोच्नु सान्धर्भिक छैन। तर किन दिमागले नमान्ने होला!  आफूले सबैभन्दा धेरै माया गरेको मान्छेले अर्कैसँग जिन्दगी बिताउने खबर सुन्दा मेरो मन रोएन भनेर कसरी ढाँटौ! कति छट्पटिएकी थिएँ म, कति अत्तालिएकी थिएँ । अर्ध पागल झैँ यता उता भौतारिँदै, आफैसँग रिसाउँदै अनि आफैँलाई फकाउँदै, अलमलिँदै अनि अनगिन्ती आँसु बगाउँदै कहिले शान्त भए कुन्नि पत्तै पाइन। कति गाली गरे उसलाई किन धोका देको भनेर?  माया त उत्ति नै थियो, फेरि किन सधैँ साथ दिने बाचा तोड्यौ भनेर। भएभरको रिस सबै पोखेँ , तर केवल सपनामा  बाच्नुको उद्देश्य नै हराइसकेको थियो। फेरि आँफैलाई सम्झाउदै अनि सम्हाल्दै अहिले ५ वर्ष बितिसकेछ।

आज उसको आँखामा त्यही माया खोजेँ । अझै पनि मलाई उसकै मायाले अल्झाइरहेको अनुभूति प्रदान गर्न खोजेँ। तर समय बदलिसकेको रहेछ, मौसम बदलिसकेको रहेछ अनि उसको भावना पनि।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *