ताल्चा

सुनाउनलाई थुप्रै कुराहरू थपिइसकेछन्

जिन्दगीको दौडमा समयको गिन्ती नै भुलिसकिएछ

हेर्दा हेर्दै, सोच्दै नसोची पाइला लम्किसकेछन्

टाढा, अलि टाढा गर्दै धेरै टाढा पो पुगिसकिएछ

 

धेरै भैसकेछ त्यो प्रिय कोठामा ताल्चा लागेको

आफ्नो कुरा सुनाउन नपाएको अनि त्यो आवाज नसुनेको

हेर्न–छुन त परै जाओस्, त्यो अस्तित्वलाई महशुस गर्न नपाएको

मनभरी वेदना हुँदा नि छताछुल्ल पोख्न नपाएको

 

झण्डै दशकको यात्रा सजिलो कहाँ पो थियो र

अनुपस्थितिको आभाष व्यक्त गर्न सधै कहाँ मिल्थ्यो र

सोचेझै हुन्न नि, तर सोच्नै नसक्ने कुरा किन हुन्छ र?

बिहानीको किरण स्पर्श हुन नपाउँदै किन बादल मडारिन्छ र?

 

कहिले विडम्बना भन्दै सान्त्वना दिने

कहिले भावीको लेखा अनि समयको खेल खेलिदिने

धेरै नै भैसक्यो अब त्यो ताल्चा फोडौझै लाग्ने

त्यो आत्मियताको लागि सांसारिक मोह त्यागौझै लाग्ने…

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *